कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताका लागि भन्दै महेन्द्रनगर बजारमा आजदेखि निषेधाज्ञा जारी गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ । जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन बमोजिम आजदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेशमा उल्लेख छ ।

केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । संविधान चोकमा आज राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको शालिक स्थापना गर्ने तयारी थियो । तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसअघि शहीद भीमदत्त पन्तको शालिक तोडफोड गरेको अभियोगमा राप्रपाका जिल्ला सचिवसहितका १८ जना नेता, कार्यकर्ता पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय