कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। बुधबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले सडक किनारमा पार्किङ गरिएको मोटरसाइकल र साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यपको मृत्यु भएको छ। सडकमा पैदल हिँडिरहेका उनलाई दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। तर चिकित्सकले बिहान ७ः४५ बजे मृत घोषणा गरेका थिए।



त्यस्तै, साइकलमा सवार महाराजगन्ज नगरपालिका–३ गनौरियाका करिब ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका करिब ७५ वर्षीय भोल्लर कुर्मीको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्रकले सडक किनारमा राखिएको मोटरसाइकल र साइकललाई ठक्कर दिएपछि दुर्घटना भएको खुलेको छ। दुर्घटनापछि ट्रक चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिइएको छ। मृतकहरूको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।



