काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ । गोली लागेपछि गम्भीर घाइते भएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) रेफर गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिएका छन् ।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । स्थानीय विवेक मेहताका अनुसार यस घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।






