कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। मृतक दमाई महिनावारीका कारण परम्परागत छाउगोठमा बसिरहेकी थिइन्। शनिबार राति सुतिरहेको अवस्थामा उनलाई सर्पले डसेको थियो। परिवारजनले तत्काल उपचारका लागि अस्पताल लगिए पनि बाटैमा उनको मृत्यु भएको पुष्टि भएको छ।

यो घटनालाई गम्भीर रूपमा लिँदै जिल्ला प्रशासन कार्यालयले आइतबार ७ वटा नगरपालिका र २ वटा गाउँपालिकालाई पत्र पठाएर तत्काल छाउगोठ भत्काउने अभियान थाल्न निर्देशन दिएको हो। पत्रमा भनिएको छ, महिनावारीको समयमा महिलालाई छाउगोठमा राख्ने कुप्रथा अझै कायम रहँदा ज्यान जानेजस्ता घटनाहरू दोहोरिन थालेका छन्। यस्तो घटना फेरि नहोस् भन्नका लागि सामुदायिक तहबाटै यो प्रथाको अन्त्य गर्न जरुरी छ। प्रशासनले भीमदत्त, दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास र बेलौरी नगरपालिकासँगै बेलडाँडी र लालझाडी गाउँपालिकालाई विशेष अभियान सञ्चालन गर्न पत्राचार गरेको हो।

नेपाल सरकारद्वारा २०७४ सालमा लागु गरिएको कानूनअनुसार छाउपडी प्रथा गैरकानुनी र दण्डनीय हो। तर, अझै पनि समाजमा गहिरो रूपमा जरा गाडेर बसेको यो परम्परा ग्रामीण क्षेत्रमा व्यापक रूपमा कायम छ। प्रशासनले चेतावनी दिएको छ कि अब केवल छाउगोठ भत्काउनु मात्र पर्याप्त छैन, सामाजिक चेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन नगरेसम्म कुप्रथा उन्मूलन सम्भव छैन।

साथै, यदी यसप्रकारको घटना पुनः घटेमा स्थानीय तह नै जिम्मेवार हुने पनि स्पष्ट पारेको छ। कमलाको निधनले फेरि एकपटक समाजमा विद्यमान महिला विभेदमूलक प्रथाविरुद्ध आवाज उठाउने अवसर सिर्जना गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय