काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ । करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर कर्णाली नदीतर्फ खसेपछि उक्त खण्डमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ ।



वर्षाका कारण सडकको पर्खाल, ग्याबिन जाली तथा अन्य संरचना भत्किएपछि यात्रु तथा मालवाहक गाडीहरू बिच बाटोमै अलपत्र परेका छन् । सडकको ठुलो भाग नदीतर्फ बग्दा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
स्थानीयका अनुसार केही दिनदेखि परेको अविरल वर्षाले सडक कमजोर बनाएको थियो । मंगलबार रातिको वर्षापछि आएको बाढी र पहिरोका कारण सडकको महत्वपूर्ण भाग भत्किँदा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो । सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानी, बिरामी ओसारपसार तथा स्थानीय जनजीवन प्रभावित भएको छ । वर्षाका कारण ग्रामीण सडकसमेत पूर्ण रूपमा बन्द भएका छन् ।
सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरी मर्मत तथा पुनर्निर्माणको तयारी थालेको जनाएको छ । तर वर्षा जारी रहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन चुनौती रहेको बताइएको छ ।
स्थानीयवासीले कर्णाली करिडोरजस्तो रणनीतिक महत्वको सडकमा बारम्बार हुने पहिरो र कटान नियन्त्रणका लागि दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न सरकारसँग माग गरेका छन् । दुई देश जोड्ने यो सडकको मर्मत–सम्भारमा सरकार बारम्बार चुक्ने गरेको उनीहरूको आरोप छ ।



