कर्णाली प्रदेश सरकारले बार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप ‘कर्णाली समृद्धि’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक आज सार्वजनिक गर्दै प्रदेश सरकारले ‘कर्णाली समृद्धि’ अभियान अघि सारेको हो ।
प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्र्दै सरकारले नीति तथा कार्यक्रममा ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ दीर्घकालीन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनलाई प्राथामिकता दिइएको जानकारी दिएका हुन ।



प्रदेश सरकारले सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई थप परिमार्जन सहित निरन्तरता दिने जनाएको छ । प्रदेशलाई आर्गानिक प्रदेशको रुपमा विकास गरिने र प्राङ्गारिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
आन्दोलनमा ज्यान गुमाएका परिवारलाई कृषिमा सहुलियत, उत्पादनमूलक सहकारीको प्रबद्र्धन, हरित व्यवसायको स्टाटपका लागि बीउ र प्रविधि उपलव्ध गराइने नीति पनि प्रदेश सरकारले अघि सारेको छ । मझौला तथा साना उद्योगहरुलाई व्याज अनुदान, बोर्टानिकल र जियोलोजिकल पार्क स्थापना, एक वडा एक उत्पादन सहकारीपनि प्रदेश सरकारको प्राथमिकतामा परेका छन । सुर्खेत विमानस्थल विस्तार, पर्यटन प्रबद्र्धनलाई पनि प्रदेश सरकारले जोड दिएको छ ।



