काठमाडौं । काठमाडौं चक्रपथ अन्तर्गतको कलंकी–बसुन्धरा खण्ड विस्तारको काम अब औपचारिक रूपमा अघि बढ्ने भएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक अनुदान सहयोगमा निर्माण हुन लागेको ८.२ किलोमिटर सडक विस्तार कर छुटसम्बन्धी निर्णय प्रक्रियामा अड्किँदा केही समयदेखि रोकिएको थियो। तर हालै मन्त्रिपरिषद् ले आवश्यक कर छुट स्वीकृत गरेपछि आयोजनाको कार्यान्वयन प्रक्रिया खुला भएको हो।
अर्थ मन्त्रालय का अनुसार वैदेशिक सहायता परिचालन नीति, २०८२ बमोजिम अनुदानमा सञ्चालन हुने आयोजनामा कर नलाग्ने व्यवस्था छ। सोही आधारमा निर्माण सामग्री तथा उपकरण आयात, भिसा शुल्कलगायतमा कर छुट दिने निर्णय गरिएको हो। यससँगै अब नेपाल सरकार र चीन सरकारबीच कार्यान्वयन सम्झौता हुनेछ। त्यसपछि चिनियाँ पक्षले निर्माण कम्पनी छनोट गरी काम अघि बढाउनेछ। निर्माण सम्पन्न भएपछि सडक नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ।



दोस्रो चरणको यस खण्डको अनुमानित लागत ५६७.१३ मिलियन चिनियाँ युआन रहेको छ, जुन पूर्ण रूपमा अनुदान सहयोग हो। यसअघि चक्रपथको पहिलो खण्ड कलंकी–कोटेश्वर पनि चीनकै सहयोगमा विस्तार गरिएको थियो।
सडक विभागका अनुसार यसपटक सडकलाई आठ लेनमा स्तरोन्नति गरिनेछ। ३ मिटर चौडाइको मेडियन, दुवै तर्फ २.७५ मिटर सर्भिस लेन, मुख्य लेन, ड्रेनेज संरचना तथा पैदलयात्रीका लागि चार आकाशे पुल निर्माण गर्ने योजना छ। गोंगबु बसपार्क नजिकको विष्णुमती पुल हटाएर चार लेनको ओभरपास बनाइनेछ भने वनस्थली–ढुंगेधारा क्षेत्रमा अन्डरपास निर्माण गरिनेछ।
राजधानीको मुख्य परिधीय सडकका रूपमा रहेको यस चक्रपथ विस्तारले कलंकी र बसुन्धरा क्षेत्रमा देखिने अत्यधिक सवारी चाप व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ। विस्तार सम्पन्न भएपछि यातायात आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने विश्वास गरिएको छ।



