काठमाडौं । चर्चित हास्य श्रृंखला भद्रगोलबाट बलेको उपमा पाएका कलाकार सागर लम्साल पक्राउ परेका छन् । उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।



लम्सालमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ । यससँगै लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको थियो । सोही आरोपबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बलात्कार आरोपपछि ’बले’ लाई छायांकनरत फिल्म ’पाँच पाण्डव’ बाट पनि निष्कासन गरिएको थियो । फिल्मको निर्माण ब्यानर कालारानी फिल्मस् प्रालिले शुक्रबार नै विज्ञप्ति जारी गरेर लम्साललाई निष्कासन गरिएको जानकारी दिएको थियो ।
’पाँच पाण्डव’ मा लम्सालको ९० प्रतिशत दृश्य खिचिसकिएको भए पनि अब उनी फिल्मको हिस्सेदार नरहने र उनी संलग्न रहेका कुनै पनि दृश्य फिल्ममा नहुने निर्माण ब्यानरले स्पष्ट पारेको छ ।



