नेपाली साहित्यको कविता विधामा लामो समयदेखि कलम चलाउँदै आएका चर्चित कवि मौन आवाज चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटका स्थायी बासिन्दा हुन् । साहित्यको अन्य विविध विधामा समेत सक्रिय मौन आवाजको ३ ओटा कविता प्रस्तुत गरिएको छ ।

पातालको कथा

यो समय
स्खलनको झण्डा गाडिएको छ पातालमा !

गोडिरहेछ लिंगहिन हातहरू
कोप्रामा उम्रेको मगज फूल !

चौपाया चिन्तनको भीडबाट कोही चिच्याइरहेछ
– उज्यालो बचाउ
– उज्यालो बचाउ !

मानसिक रोगको अन्तिम फेजबाट
फुत्त निस्किएको छ
एउटा विरक्त साँझ आदिम उपत्यकाको गल्लीमा
र हिँडेको छ नामूद नगरवधूसँग डेटिङमा !

एउटा हातमा कण्डम
र अर्को हातमा गीता बोकेर
दिग्भ्रमित आधुनिक मान्छे
दोबाटोमा उभिएको छ – ठिङ्ग !

सभ्यताको नदीमा बगिरहेछ
वीर्य
रगत
खकार
र एक युगीन मूर्छना !

यो शहरको झ्यालमा झुन्डिएको छ
हाकुपटासी
सँगै झुन्डिएको छ एउटा पुरानो संस्कृति !

यो शहरको कान्लामुनि
अहिले पोखरी छ भ्यागुतो खेल्ने
जहाँ
पहिले – पहिले देखिन्थ्यो यो सहरको अनुहार !

लाखे नाच्दै हिंड्थ्यो जहाँ
अहिले त्यहाँ – त्यो डबलीमा डान्सबार खुलेको छ !

जहाँ खर्पन बिसाएर हर्क चाः
थकान मेट्थ्यो
अहिले त्यहाँ बसपार्क बनेको छ !

हरिया फाँटहरूमा
स्मृतिको पहाडबाट पहिरो खसिरहेछ ।

कलात्मक टुँडाल
प्राचीन मन्दिर
र मौलिक वस्तीहरुमा
बुलडोजरले खनिरहेछ स्वर्ग पुग्ने नयाँ राजमार्ग !

दिवंगत सम्पदाहरूको आँखीझ्यालबाट
कहिले इतिहास चुहिन्छ
कहिले संस्कृति चुहिन्छ
कहिले चुहिन्छ कला – साहित्य र दर्शन !

अहिले पातालमा
पोर्न स्टारहरूको गुप्तांगबाट घाम उदाउँछ
कर्पोरेट कार्यालयहरूबाट समय हिँड्छ
दुतावासहरूको निर्देशनमा हावा चल्छ !

अहिले पाताल
मेलम्ची कचौरामा बोकेर उतानो परिरहेको छ
र काकाकुल प्रेत – आत्माहरू
जीवनको सुख्खा मरुभूमिमा क्याक्टस रोपिरहेका छन् !

अहिले पाताल
निद्राको ट्याब्लेट चपाएर
दिनभर सुत्छ – मुत्छ – सुत्छ – मुत्छ सुत्छ !

अहिले पाताल
फूलहिन – सपनाहीन – सम्भावनाहीन
र उज्यालोहीन
लगभग मृत – लगभग ध्वस्त – लगभग नष्ट
बाँचिरहेको छ !

यतिखेर पातालका मान्छेहरू
मस्तिष्क हराएको कोमाग्रस्त पृथ्वी बोकेर
सर्वाङ्ग नग्न कुदिरहेका छन् !

यतिखेर
स्खलनको झण्डा गाडिएको छ – पातालमा
र शोकधुन बजिरहेको छ – नेपथ्यमा ।

र यतिनैखेर
सभ्यताको लास काँधमा बोकेर
मलामी जुलुस निस्केको छ – शहरमा !

०००

एकादेशको शासक

मान्छेहरू
भोकै थिए तर – मौन थिए !

मान्छेहरू
नांगै थिए तर – मौन थिए !

मान्छेहरू
आजित थिए तर – मौन थिए !

आवाज हराएर
मान्छेहरू मस्त निदाईरहेको देशमा
एकदिन विष्पोट भयो !

मस्तिष्कबाट विचार हुत्याएर
मानिसहरू भाग्न थाले
सम्पूर्ण उत्तेजना सखाप भैसकेको
माटोमा
अकस्मात
चिसा पाइतालाहरू घिसार्दै फुत्त निस्कियो
समयको एउटा नयाँ शासक
र, घोषणा गर्यो – प्रेमको मृत्यु !

– बहुलताको मृत्यु !

फूलहरूलाई कारावास पठायो
काँडाहरूले दरबार घेर्यो
र प्रेमीहरूलाई फाँसी दियो !

सुन्दर स्त्रीहरूका छाला काढेर
शहरका पर्खालहरूमा टाँग्यो
विशाल खाल्डोहरूमा योनीहरू पुर्यो
र लिंग काटिएका सिपाहीहरूलाई गस्तीमा खटायो ।

सपना देख्ने आँखाहरू निकाल्यो
र गिद्दलाई दियो ।

प्रतिरोधी हृदयहरू छातिबाट झिक्यो
र कुकुरलाई दियो ।

हिंड्न् सक्ने खुट्टाहरू जमिनबाट उखेल्यो
र रूखमा झुण्ड्याईदियो ।

सम्पूर्ण शरीरहरूबाट रगत झिक्यो
वीर्य झिक्यो
स्वास झिक्यो
र सबैभन्दा महत्वपूर्ण संवेदना झिक्यो ।

– कल्पना शक्ति झिक्यो
– सिर्जना शक्ति झिक्यो ।

नयाँ शासक नपुंसक थियो
उसले चिन्तनका सबै सम्भावनाहरू नष्ट गर्यो ।

नयाँ शासक गँजेडी थियो
उसले गाँजा खेती गर्यो ।

नयाँ शासक रक्स्याहा थियो
उसले मदिरा उत्पादन गर्यो ।

नयाँ शासक सन्की थियो
उसले अनेक उपद्रो गर्यो ।

तुषारोको मौसममा नग्न–दौड
गर्मी याममा अग्नि–नृत्य
वर्षातमा रात्री–उत्सव
र हरेक वर्ष आफ्नो जन्मदिनमा राष्ट्रिय दिवस मनायो !

नयाँ शासकले
नयाँ संविधान बनायो
नयाँ सरकार बनायो ।

– मुर्खलाई मुख्यमन्त्री
– पत्रुलाई परराष्ट्रमन्त्री
– गुण्डालाई गृहमन्त्री
– डाँकालाई रक्षामन्त्री
– फटाहालाई सल्लाहकार
र चोरलाई न्यायाधीश नियुक्ति गर्यो ।

नयाँ शासक केहि नयाँ गर्न चाहन्थ्यो
नयाँ शासकले
एउटा अनौठो उर्दी जारी गर्यो –

“अबदेखि
यो देश गणतान्त्रिक देश हुनेछ ।“

स्वाभाविक हो
हामी त्यही देशका नागरिक हौं !

०००

भीड

कृपया भीडतिर नजानुहोस् !

भीड
असंख्य उत्तेजना र कुण्ठाले निर्माण भएको हुन्छ ।

भीड
जड् चिन्तन र अस्थिर मनस्थितिले निर्माण भएको हुन्छ ।

हेर्दा
बहुल विचारको पुञ्ज जस्तो देखिएपनि
भीड एक्लो र वेवारिसे हुन्छ ।

हेर्दा
जीवन्त र गतिशील जस्तो देखिएपनि
भीड निर्जीव हुन्छ ।

भीड
संवादै संवादको संवादहिनता हो ।

भीड
असंख्य हल्लाहरूको एकल मौनता हो ।

भीड
अस्तित्वको अमूर्त अवसान हो ।

भीडको आफ्नो अनुहार हुँदैन
भीडको आफ्नो पहिचान हुँदैन ।

हेर्दा
रोमाञ्चक देखिएपनि
भीड निरस हुन्छ ।

हेर्दा
स्वतन्त्र र सार्वभौम देखिएपनि
भीड पराधीन र पराश्रित हुन्छ ।

भीड
बाढी – पहिरो र भूकम्प जस्तै हुन्छ
भोक – रोग र प्रकोप जस्तै हुन्छ !

भीड
मान्छेहरूका लागि
अत्यन्त खतरनाक हुन्छ ।

कृपया भीडतिर नजानुहोस् !

किनकि
भीडले भीडलाई कुल्चेर मार्ने गर्छ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय