संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका असरहरू विश्वले अनुमान गरेभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको बताउनुभएको छ।संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै गुटेरेसले तीन वर्षअघि नेपालको हिमालमा पुगेर हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएकोप्रति विश्वको ध्यानाकर्षण गराएको स्मरण गर्नुभयो। त्यतिबेला आफूले ‘विश्वका छानाहरू भत्किँदैछन्’ भन्दै दिएको चेतावनीलाई कतिपयले अतिरञ्जित भन्दै बेवास्ता गरेको उहाँको भनाइ थियो।
तर पछिल्ला दुःखद घटनाहरूले जलवायु परिवर्तनका प्रभावबारे गरिएको चेतावनी वास्तविकतामा परिणत हुँदै गएको देखाएको गुटेरेसले बताउनुभयो। उहाँका अनुसार जलवायु परिवर्तनका असरहरू अपेक्षा गरिएभन्दा चाँडै आइरहेका छन् र यसको प्रभाव अझ गम्भीर तथा व्यापक बन्दै गएको छ। गुटेरेसले जलवायु परिवर्तनका कारण उत्पन्न क्षतिको समाधानमा सबैभन्दा धेरै प्रदूषण गर्ने र त्यसबाट सबैभन्दा बढी लाभ लिने देश तथा पक्षले थप जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो। उहाँले जलवायु परिवर्तनको क्षतिको मूल्य प्रदूषकले नै चुकाउनुपर्ने धारणा राख्नुभयो।



महासचिव गुटेरेसले विश्वलाई जलवायु न्यायको आवश्यकता रहेको बताउँदै अनुकूलन र जलवायु वित्तलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो। विकसित देशहरूले यसअघि गरेका जलवायु सम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले विकसित देशहरूले अनुकूलनका लागि उपलब्ध गराउँदै आएको वित्तीय सहयोग तीन गुणा बढाउनुपर्नेमा जोड दिनुभयो। साथै, जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका देशलाई सहयोग गर्न स्थापना गरिएको हानि तथा नोक्सानी कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
गुटेरेसको सम्बोधनमा विशेषगरी जलवायु परिवर्तनको प्रभावबाट बढी प्रभावित विकासशील तथा हिमाली मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग, जलवायु वित्त र अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने विषय उठाइएको छ। नेपालजस्ता हिमाली मुलुकमा तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने, हिमताल विस्तार हुने तथा बाढी, पहिरो र अन्य जलवायुजन्य जोखिम बढ्दै गएको अवस्थामा गुटेरेसको पछिल्लो अभिव्यक्तिलाई जलवायु संकटको विश्वव्यापी प्रभावप्रति थप अन्तर्राष्ट्रिय ध्यानाकर्षणका रूपमा हेरिएको छ।



