भारत प्रशासित कश्मीरको प्रसिद्ध पर्यटकीयस्थल बैसरन घाँसे मैदान नजिकै सोमबार साँझ एक निर्मम आतङ्कवादी आक्रमणमा परी २८ निर्दोष आन्तरिक पर्यटकहरूले ज्यान गुमाएका छन्। पहलगामबाट करिब ६ किलोमिटर टाढा अवस्थित सो रमणीय क्षेत्रमा घुम्न गएका पर्यटकहरूको समूहमाथि ६ जना सशस्त्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा, १७ जना अन्य गम्भीर घाइते भएका छन्।



प्रहरी तथा सुरक्षा निकायका अनुसार आक्रमण अत्यन्त योजनाबद्ध ढंगले गरिएको थियो। प्रत्यक्षदर्शीहरूका भनाइअनुसार, आक्रमणकारीहरूले पहिले नाम सोधेका थिए र त्यसपछि लक्षित रूपमा गोली प्रहार गरेका थिए। घटनास्थलमा तत्कालै सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको भए तापनि आक्रमणकारीहरू अन्धकारको ओझेलमा भाग्न सफल भएका थिए।
घटनामा ज्यान गुमाउनेमध्ये एक जना नेपाली नागरिक सन्दिप न्यौपानेको नाम पनि पुष्टि भएको छ। भारतका विभिन्न सहरबाट आएका ती पर्यटकहरू बैसरनको हरियाली र प्राकृतिक सौन्दर्यको आनन्द लिन गएका थिए। तर त्यो स्वप्निल यात्राले एकाएक दुःस्वप्नको रूप लियो।
मानवताविरुद्धको अपराध :देशभित्र र बाहिरबाट कडा प्रतिक्रिया
यो आक्रमण पछिल्ला वर्षहरूमा सर्वसाधारणमाथि लक्षित गरिएका घटनाहरूमा सबैभन्दा घातक मानिएको छ। १९८९ यता मुस्लिम बाहुल क्षेत्र कश्मीरमा विद्रोह जारी रहे तापनि हालका वर्षहरूमा हिंसात्मक गतिविधिमा केही कमी आएको मानिँदै आएको थियो। तर यो पछिल्लो घटनाले पुनः कश्मीरको संवेदनशीलतामा गम्भीर प्रश्न उठाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको औपचारिक भ्रमण छोट्याएर तुरुन्तै स्वदेश फर्किएका छन्। उनले घटनालाई “कायरतापूर्ण र मानवता विरोधी” भन्दै दोषीहरूलाई कडा कारबाहीको चेतावनी दिएका छन्। नेपाली प्रधानमन्त्री केपी शर्मा ओली, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वभरका नेताहरूले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। घटनाले अन्तर्राष्ट्रिय समुदायमा पुनः कश्मीरको सुरक्षास्थितिप्रति चिन्ता उत्पन्न गराएको छ।
घाइतेहरूको उपचार जारी, पहिचान र अनुसन्धानमा तीव्रता
आक्रमणमा घाइते भएका अधिकांशको अवस्था गम्भीर रहेको र उनीहरूलाई श्रीनगरस्थित सैनिक अस्पताल तथा अन्य प्रमुख स्वास्थ्य संस्थानहरूमा राखिएको छ। सुरक्षाकर्मीहरू घटनाको अनुसन्धानमा जुटेका छन्, र घटनास्थल वरपरको विस्तृत सर्च अपरेशन जारी छ। हालसम्म कुनै पनि आतङ्कवादी समूहले घटनाको जिम्मेवारी लिएको छैन। तथापि, प्रारम्भिक अनुमानअनुसार घटनामा सक्रिय चरमपन्थी संगठनहरूको संलग्नता हुनसक्ने बताइएको छ।



