झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बजार एरियाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका वडा नं. ५ (नेलई) घर भई हाल झापा जिल्ला कन्काई न.पा. वडा नं. ८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन्।
गत आइतबार साँझ करिब ७:३० बजे नेपाल बैंक अगाडिको सडक खण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रु. १,००० दरका रु. १,००,००० (एक लाख) बराबरका नक्कली नोट फेला परेका थिए। प्रहरीले भारतीलाई पक्राउ गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई गरी चलनमा ल्याएको खुलेको छ। सोही सूचनाका आधारमा बिहीबार दिउँसो करिब ४:३० बजे प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले भारती बस्ने डेराकोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्रीहरू फेला पारेको छ।

कोठाबाट विभिन्न दरका रु. ५,३०,६८० (पाँच लाख तीस हजार पाँच सय असी) बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन १ थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायतका प्रमाणहरू बरामद गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय