काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डेले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । पार्टीको आन्तरिक सुधार र राजनीतिक संस्कार परिवर्तनका लागि भन्दै यी तीनै जना पदाधिकारीले चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने निर्णय गरेका हुन् ।

गगन थापा: नेतृत्व नफेरिए चुनाव नलड्ने अडान

महामन्त्री गगन थापाले पार्टीको वर्तमान नेतृत्व परिवर्तन नभए आफू निर्वाचनमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उहाँले भन्नुभयो, “नेतृत्व नफेरी चुनावमा जाँदा जनतामा नयाँ आशा जगाउन सकिँदैन । यदि नेतृत्व यथावत राखेरै चुनावमा जाने हो भने म उम्मेदवार बन्दिनँ ।” थापाले निर्वाचन अघि नै विशेष महाधिवेशन वा अन्य माध्यमबाट नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

विश्वप्रकाश शर्मा: ‘एक्जिट पोलिसी’ को कार्यान्वयन

अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने राजनीतिक प्रवृत्ति सुधार्न आफू उम्मेदवार नबन्ने स्वघोषणा गर्नुभएको छ । लगातार तीन पटक उम्मेदवार बनिसकेकाले अब नयाँ अनुहारलाई स्थान दिनुपर्ने उहाँको तर्क छ । “बाँचुञ्जेल पद ओगटिरहने प्रवृत्तिको अन्त्य जरुरी छ,” शर्माले बैठकमा भन्नुभयो, “आफू नउठ्ने र क्षेत्रका अन्य साथीहरूलाई अघि सार्ने निर्णय मैले गरिसकेको छु ।”

बद्री पाण्डे: नयाँ पुस्तालाई अवसर

सहमहामन्त्री बद्री पाण्डेले पनि नयाँ पुस्तालाई मार्गप्रशस्त गर्न बाजुराबाट निर्वाचन नलड्ने निर्णय लिनुभएको छ । उहाँले यसअघि नै जिल्ला कार्यसमितिमा आफू उम्मेदवार बन्न इच्छुक नरहेको जानकारी गराइसक्नुभएको छ । उहाँको नाम यसपटक उम्मेदवारको सिफारिस सूचीमा समेत समावेश गरिएको छैन । पाण्डेले अब आफू पार्टीको सांगठनिक सुदृढीकरणमा केन्द्रित हुने बताउनुभएको छ ।

 

कांग्रेसका प्रभावशाली र ‘ग्लायमरस’ मानिने यी तीन नेताहरू चुनावी मैदानमा नहुँदा आगामी निर्वाचनमा कांग्रेसको रणनीति कस्तो होला भन्ने बहस सुरु भएको छ । यस निर्णयले पार्टीभित्र नेतृत्व हस्तान्तरण र राजनीतिक नैतिकताको विषयलाई पुनः मुख्य एजेन्डा बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय