काठमाडौं — नेपाली कांग्रेसको इतरपक्षले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। इतरपक्षले आज पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भेला आयोजना गर्न लागेको जानकारी दिएको हो।

राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा नेता शशांक कोइरालालाई जिम्मेवारी दिइएको छ। शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंह, शेखर कोइरालालगायत विभिन्न धारमा रहेका नेताहरू सम्मिलित यस समूहले बीपी कोइरालाका पुत्र शशांकलाई संयोजक बनाएर पार्टीभित्र एकताको सन्देश दिन खोजेको देखिएको छ।

पत्रकार सम्मेलनमा शशांक कोइरालाको नाम शेखर कोइरालाकै सहमतिमा संयोजकका रूपमा टुंगो लगाइएको जानकारी दिइएको थियो। कोइराला नेतृत्वको ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समितिमा १४औँ महाधिवेशनबाट निर्वाचित सदस्य तथा पदाधिकारी, प्रदेश कार्यसमितिका सदस्य र जिल्ला सभापतिहरू सहभागी रहने बताइएको छ।

राष्ट्रिय भेलाको तयारीका लागि विभिन्न १६ वटा उपसमिति गठन गरिएको छ। भेलामा राजनीतिक, सांगठनिक लगायतका प्रस्तावहरू प्रस्तुत गरिने आयोजक पक्षले जनाएको छ। पार्टी संस्थापन पक्षले आफूहरूलाई बेवास्ता गरेको भन्दै राष्ट्रिय भेला आयोजना गर्नुपरेको इतरपक्षको भनाइ छ। यसअघि पनि इतरपक्षले विभिन्न प्रदेशमा राष्ट्रिय भेला आयोजना गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय