काठमाडौं । भाद्र शुक्ल अष्टमी अर्थात् कागे अष्टमी पर्व मनाइँदै छ । कागेश्वर मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरीको मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
कागेश्वरीमा पूजा गर्दा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने जनविश्वास रहेको छ । कागले वर्ष दिनसम्म स्पर्श गरेको वा काग दोष निवारणका लागि कागेश्वरीमा पुगि दर्शन गर्ने परम्परा छ ।



काठमाडौं उपत्यकाको तीन जिल्लाका साथै छिमेकी जिल्ला नुवाकोट, काभ्रेपलाञ्चोक, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायतका भक्तजन कागेश्वरीको मेला भर्न आएका छन् ।
गंगा दशहरा वा श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड पुगेका भक्तजनले ल्याएको जल कागे अष्टमीमा कागेश्वरीमा चढाउनुपर्छ भन्ने मान्यता छ । गोसाइँकुण्ड पुग्नेले यहाँ जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ ।
कागेश्वरी–मनोहरा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।



