काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा झडप भएको छ । बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग शिक्षकहरुको झडप भएको हो । झडपमा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारी शिक्षक, कर्मचारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले हिजो पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।



यसैबीच नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो । तीन बजे बानेश्वरमा बस्ने बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।
नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २६ दिनयता शिक्षक काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । सरकारसँग भएका पटक पटकका वार्ताबाट निकास निस्कन सकेको छैन । आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।



