काठमाडौं । राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले दुबो रोप्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ । ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको अभियानमार्फत टुँडिखेललाई थप हराभरा, आकर्षक तथा वातावरणमैत्री बनाउने प्रयास गरिएको हो ।



काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायहरूको समन्वयमा सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत टुँडिखेलमा दुबो रोप्ने, हरियाली संरक्षण गर्ने तथा खुला क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम भइरहेको छ । काठमाडौं उपत्यकाको मुटुमा अवस्थित टुँडिखेल ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण खुला क्षेत्र मानिन्छ । यहाँ राष्ट्रिय दिवसका समारोह, विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको दैनिक व्यायाम, घुमफिर र मनोरञ्जनका गतिविधि सञ्चालन हुँदै आएका छन् ।
पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण तथा यसको मौलिक स्वरूप जोगाउने विषयमा विभिन्न सरोकारवाला निकाय तथा नागरिकस्तरबाट चासो व्यक्त हुँदै आएको छ । खुला क्षेत्रको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम राख्न हरियाली विस्तारलाई प्राथमिकता दिइएको बताइएको छ ।



