काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन फेरि संकटमा परेको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयवासीले पुनः आन्दोलन सुरु गर्दै फोहोर विसर्जन रोकिदिएपछि उपत्यकाका सयौँ फोहोरयुक्त गाडी सडकमै रोकि राखेका छन् ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार स्थानीयले सोमबारदेखि आन्दोलन पुनः सुरु गर्ने जानकारी महानगरलाई दिएका थिए । आन्दोलनका कारण ल्यान्डफिल साइटमा फोहोर प्रवेश नदिने भनिएकाले आज बिहानदेखि गाडी रोकिएको महानगरले जनाएको छ ।

यसअघि धादिङको धुनिवेशी नगरपालिका–१, बन्चरे कुँडुले प्रभावित स्थानीयले माग पुरा नभएको भन्दै अनिश्चितकालीन अवरोध गर्ने घोषणा गरेका थिए । त्यसपछि कात्तिक १६ गते शहरी विकासमन्त्री कुलमान घिसिङ स्वयं स्थलमै पुगेर १५ दिनभित्र स्थानीयका माग सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएका थिए । तर माग कार्यान्वयन नहुँदै स्थानीय फेरि आन्दोलित भएका छन् । स्थानीयका मुख्य मागमा बन्चरेडाँडाका बस्तीहरूलाई फोहोर स्थलबाट तीनदेखि चार किलोमिटर पर सार्ने, कुहिने–नकुहिने फोहोर छुट्याएर मल कारखानाको काम सुरु गर्ने, गुठी संस्थानको भू–जग्गामा ९० प्रतिशत उपभोगको अधिकार दिने लगायतका विषय छन् ।

सहमति र आश्वासन बारम्बार दोहोरिए पनि कार्यान्वयन नहुँदा बन्चरेडाँडाको विवाद झनै चर्किंदै गएको छ, जसको प्रत्यक्ष मार काठमाडौं उपत्यकाबासीले भोगिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय