काठमाडौं । उपत्यकामा वायु प्रदूषण उल्लेखनीय रूपमा बढेको छ । सोमबार मध्याह्न १ सय ७८ रहेको वायु गुणस्तर सूचकांक आज मध्याह्नसम्म १ सय ९१ पुगेको छ, जुन ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ । यस्तो स्तरले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ । एयर क्वालिटी इन्डेक्सअनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन् ।



वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार वर्षाले हावामा रहेका धुलो र कण जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो सुक्खा मौसममा प्रदूषण उच्च रहन्छ ।
वातावरण अभियन्ता वर्षा पराजुलीले सवारीसाधनको वृद्धि, डिजेल–पेट्रोलको धुवाँ, निर्माणस्थलबाट उड्ने धुलो, वन डढेलो र सुक्खा मौसमलाई मुख्य कारण बताएकी छन् । समयमै नियन्त्रणका उपाय नअपनाए अवस्था जटिल बन्न सक्ने उनको भनाइ छ । सरकारले एक्युआई ३०० नाघेमा विपद् मान्ने व्यवस्था गरेको छ । न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइ उपकरण प्रयोग बढाउने र संवेदनशील समूहलाई सावधानी अपनाउन आग्रह गर्ने योजना रहेको छ ।



