काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १ सय ५ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ । विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघनका कारण गरिएको उक्त कारबाहीबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको हो ।
कार्यालयले सबैभन्दा धेरै कारबाही विविध ट्राफिक नियम पालना नगर्ने चालकहरूमाथि गरेको छ । यस्ता चालकको संख्या १ हजार १ सय ६४ रहेको छ । त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १९३ जना चालक पनि ट्राफिक निगरानीमा परेका छन् ।



ट्राफिक संकेत उल्लंघन गर्ने १३३ जना, लेन अनुशासन नमानेर सवारी चलाउने १३२ जना तथा अत्यधिक गतिमा सवारी साधन चलाउने १३९ जनालाई समेत कारबाही गरिएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९ जना चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबीच, निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने ७९ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ८७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ७९ जना चालकलाई पनि कारबाही गरिएको छ ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको अवस्थामा दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई तीव्र बनाइएको जनाएको छ । कार्यालयले सबै चालकलाई ट्राफिक नियमको पालना गर्न, सुरक्षित र जिम्मेवार ढंगले सवारी चलाउन तथा सार्वजनिक सडकलाई व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरेको छ ।



