काठमाडौं – काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा निरन्तर वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबारदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि वर्षाको मात्रा अझ बढ्ने सम्भावना छ। आइतबारदेखि भने मौसम क्रमिकरूपमा सुधार हुँदै जाने अनुमान गरिएको छ। लगातारको वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले देशभर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। यसका साथै भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासमा रहेको बलियो न्यूनचापीय प्रणालीको समेत नेपालमा प्रभाव परेको छ। उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुँदै जाने मौसमविद्हरूको अनुमान छ।महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।



यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थान तथा मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
वर्षासँगै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।निरन्तरको वर्षाका कारण सडक तथा यातायातमा समेत असर पर्न सक्ने भएकाले मौसमविद्हरूले आज र भोलि लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्। विशेषगरी बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा थप सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैबीच, काठमाडौं उपत्यकामा पनि नदी तथा खोलाको जलस्तर बढेको छ। भक्तपुर र काठमाडौंको सीमाना भएर बग्ने मनोहरा र हनुमन्ते खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउन माइकिङ गरेको छ।प्रहरीले बिहानैदेखि स्थानीय बस्तीमा माइकिङ गर्दै खोलाको आसपास तथा बाढीको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको हो। स्थानीयलाई नदी तथा खोलाको किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा सम्भावित बाढीबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ।
काठमाडौं उपत्यकाबाट बग्ने बागमतीलगायतका अन्य नदी तथा खोलामा समेत जलस्तर बढेको छ। निरन्तर वर्षा भइरहेकाले जलस्तर थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तथा खोलाको आसपासका बासिन्दालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ।मौसमविद्हरूका अनुसार वर्षाको अवस्था र जलसतहमा हुने परिवर्तनलाई निरन्तर निगरानी गर्न आवश्यक छ। विशेषगरी पहिरो तथा बाढीको जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।



