काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्न लागेको जनाएको हो ।
सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ बजे अनलाइन स्लट खुल्नेछ । सेवाग्राहीको अत्याधिक चाप तथा आवेदन स्टेशन सिमित भएकाले सेवाग्राहीहरु आवेदन फारम स्टेशनमा समयमै उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।



गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो ।



