काठमाडौं — काठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको यो सुरुङ मार्ग नेपालकै पहिलो व्यवस्थित सडक यातायात सुरुङ आयोजना हो।
उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थिति रहेको थियो। पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङ मार्गको उद्घाटन गर्दै यसले काठमाडौं उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप कम गर्न, यात्रा समय घटाउन र सडक यातायातलाई सुरक्षित तथा सहज बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए।



सरकारका अनुसार सुरुङ मार्ग पहिलो चरणमा आपतकालीन प्रयोजनका सवारी साधनका लागि सञ्चालनमा ल्याइएको छ। आवश्यक प्राविधिक परीक्षण तथा सञ्चालन व्यवस्थापन पूरा भएपछि निजी तथा सार्वजनिक सवारी साधनलाई पनि चरणबद्ध रूपमा सुरुङ मार्ग प्रयोग गर्न अनुमति दिइनेछ।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणका लागि ४ कात्तिक २०७६ मा शिलान्यास गरिएको थियो। निर्माण कार्य सम्पन्न भएसँगै सुरुङ सञ्चालनमा आएको हो। यो आयोजनाले नागढुंगा क्षेत्रमा हुने लामो ट्राफिक जाम न्यूनीकरण, यात्रुलाई सहज आवतजावत तथा काठमाडौं र देशका अन्य भागबीचको सडक सम्पर्कलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नेपाल सरकार र जापान सरकारको सहयोगमा निर्माण भएको यस आयोजनालाई नेपालको पूर्वाधार विकासका क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। सुरुङ सञ्चालनसँगै आधुनिक सडक पूर्वाधार विकासतर्फ नेपालले नयाँ चरणमा प्रवेश गरेको सरकारी अधिकारीहरूको भनाइ छ।



