काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १० का सांसद प्रदिप विष्टले स्रोत, साधन र प्रकृतिले धनी भएपनि राज्य तथा भूगोलबाट पाउने स्रोतहरु कमी भएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा समिति चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले शनिबार आयोजना गरेको प्रदिप विष्ट सम्मान तथा रक्तदान कार्यक्रममा सांसद विष्टले देशकै राजधानीवासी भइकन पनि उचित स्रोत र राज्यको ध्यान नपुग्दा काठमाडौैं–१० विकट जस्तो लाग्ने बताए । राजधानीमा बसेर बजेटका लागि कराइरहनु पर्ने अवस्थाको अन्त्य गर्न आफूले पहल गरिहरेको उनको भनाइ छ । विष्टले प्रधानमन्त्री बालेन शाहलाई काठमाडौं–१० का लागि बजेट माग्न आउनुपर्ने अवस्था नबनाइदिन आफूले आग्रह गरेको समेत बताए ।



काठमाडौं–१० का मतादाताले दिएको मतदानको कदर गर्दै आफ्नो बुद्धि र विवेकले भ्याएसम्मका काम गर्दै जाने र आम नागरिकलाई दिनुपर्ने सेवासुविधाका विषयहरु प्राथमिकतामा राखि काम गरिरहेको बताउँदै सांसद विष्टले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई परेको समस्या, गुनासा सुन्न आफू २४ घण्टा तयार रहेको पनि स्पष्ट पारेका छन् ।
अर्को प्रसंगमा सांसद विष्टले अस्पतालहरूमा रगतको अभाव भइरहने अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गरे । कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । सहभागीहरुले विभिन्न सुझाव, गुनासा तथा समस्याहरुबारे सांसद विष्टलाई जानकारी गराएका थिए ।
कार्यक्रममा गत फागनु २१ गते सम्पन्न प्रनिनिधि सभा सदस्य निर्वाचनमा खटिने पार्टीका केही कार्यकर्तालाई सम्मान गरिएको थियो ।



