काठमाडौं । आज काठमाडौं र भक्तपुरसहित २५ जिल्लाका साना नदीहरूमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने भएको हो । सोही जिल्लाका नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।



त्यसैगरी ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुरका साना नदीहरूमा पनि बाढीको मध्यम जोखिम छ । गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम आसपासका साना नदीहरूमा पनि जलसतह बढेर आकस्मिक बाढी आउने मध्यम सम्झावना रहेको हो।
महाशाखाले सोमबार बिहानको मापनमा भने देशका प्रमुख ठूला नदीहरूको बहाव सामान्य रहेको जनाएको छ । कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूको जलसतह सतर्कता तह भन्दा तलै छ । कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा फनि हाल बाढीको खतरा नभएको जनाइएको छ ।
महाशाखाले मंगलबार भने देशका सातै प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको हो ।



