काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेद्वार हिमाल कार्कीले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। निर्वाचन नजिकिँदै जाँदा स्थानीय नेता तथा कार्यकर्तासहित कार्की टोल–टोल र बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१० मा कुल ८३ हजार ३०१ मतदाता रहेका छन् । ठूलो मतदाता संख्या रहेको यस क्षेत्रमा उम्मेद्वारहरू घरदैलो, भेटघाट र जनसंवादमार्फत मतदातासम्म पुग्ने प्रयासमा जुटिरहेका छन् ।



घरदैलो अभियानका क्रममा उम्मेद्वार कार्कीले मतदाताको घरघरमा पुगेर आफूलाई मतदान गर्न आग्रह गर्नुका साथै स्थानीय समस्या, आवश्यकता र जनचासोका विषयमा खुलेर छलफल गरेका छन् । उहाँले काठमाडौं–१० का मतदाताले दैनिक जीवनमा भोग्दै आएका समस्यालाई नजिकबाट बुझ्ने र तिनको समाधानका लागि जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अभियानका क्रममा कार्कीले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, सडक पूर्वाधार, फोहोर व्यवस्थापन र शहरी व्यवस्थापनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।
घरदैलो कार्यक्रममा कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको छ । उनीहरू टोल–टोलमा पुगेर कांग्रेसको नीति, कार्यक्रम र उम्मेद्वारका विकास एजेन्डाबारे जानकारी दिँदै मतदातालाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरिरहेका छन् ।
स्थानीयवासीहरूले उम्मेद्वारसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । कतिपय मतदाताले आफ्नो टोल र समुदायमा रहेका समस्या, विकासका आवश्यकता तथा अपेक्षाबारे सुझाव राखेका थिए । उम्मेद्वार कार्कीले ती सबै विषयलाई गम्भीरतापूर्वक सुनेर समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
चुनावको मिति नजिकिँदै जाँदा काठमाडांैं निर्वाचन क्षेत्र नम्बर १० मा चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ । ८३ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेद्वारहरू प्रचार–प्रसारमा व्यस्त रहँदा नेपाली कांग्रेसका उम्मेद्वार हिमाल कार्कीको घरदैलो अभियानले क्षेत्रको चुनावी माहोललाई थप तताएको देखिन्छ ।



