काठमाडौं । भोलि हुने प्रतिनिधि सभा निर्वाचनको अन्तिम तयारीको लागि सरकार जुटेको छ । देशभर करिब १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता निर्वाचन आयोगको तथ्यांकमा दर्ता भएको उल्लेख छ । जसमा पुरुष ९६ लाख ६३ हजार ३ सय ५८, महिला ९२ लाख ४० हजार १ सय ३१ र अन्य २ सय रहेका छन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचन भन्दा करिब ९ लाख १५ हजार १ सय १९ जना मतदाता थपिएका छन् भने देशभर २३ हजार १ सय १२ ठाउँमा निर्वाचन आयोगले मतदान स्थल तोकिएको छ ।
यस्तै काठमाडौं क्षेत्र नम्बर–१० मा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगले मतदानलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै प्रबन्ध मिलाइसकेको जनाएको छ । यस क्षेत्रमा कुल ८३ हजार ३ सय १ मतदाता रहेका छन् । जसमा ४२ हजार ७ सय १६ महिला, ४० हजार ५ सय ८३ पुरुष र २ सय अन्य मतदाता रहेका छन् । उपलब्ध तथ्यांकअनुसार यस क्षेत्रमा महिला मतदाताको संख्या पुरुषभन्दा केही बढी देखिएको छ ।



यस निर्वाचन क्षेत्रमा तीन स्थानीय तहका २९ वडा समावेश छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देखि ११ सम्मका १० वडा, दक्षिणकाली नगरपालिकाको १ देखि ९ सम्मका ९ वडा तथा कीर्तिपुर नगरपालिकाको १ देखि १० सम्मका १० वडा गरी कुल २९ वडा यस क्षेत्रमा पर्दछ । काठमाडौं जिल्लामा समग्र रुपमा ३ सय २० वटा मतदान स्थल र ८ सय १७ वटा मतदान केन्द्र तोकिए पनि काठमाडौं क्षेत्र नम्बर १० मा ४७ मतदान स्थल र ९८ मतदान केन्द्र निर्धारण गरेको छ । मतदान स्थलहरूमा आवश्यक पूर्वाधार, मतदाता मैत्री वातावरण तथा सुरक्षा व्यवस्थापनको काम पूरा भएको जनाइएको छ ।



