काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ९ को प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीका लागि प्रयोग हुने मतपत्र सार्वजनिक गरिएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. ९ को कार्यालयले सार्वजनिक गरेको मतपत्रमा निर्वाचन क्षेत्र ९ का उम्मेदवार तथा उनीहरूका २४ वटा फरक–फरक निर्वाचन चिह्न समावेश गरिएको छ । सार्वजनिक मतपत्रअनुसार मतदाताले एउटा मात्र उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक (✓) चिन्ह लगाउनुपर्नेछ । एकभन्दा बढी स्थानमा चिन्ह लगाएमा वा तोकिएको ढाँचाबाहिर मत हालिएमा उक्त मत स्वतः बदर हुने व्यवस्था गरिएको छ ।

मतपत्रमा सूर्य, रुख, तारा, घण्टी, जहाज, हलो, छाता, मादल, गिलास, आँखा, कुखुरा, हसियाँ, चिम, माटो, घोडा, गुलाफ, ढिकी–जाँतो, मोबाइल, सेफ्टी पिन, कोट, आँखीझ्याल, क्यालकुलेटर, त्रिभुज र झोला जस्ता निर्वाचन चिह्नहरू राखिएका छन् । ती चिह्नहरू राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीचको प्रतिस्पर्धालाई प्रतिनिधित्व गर्ने प्रतीकका रूपमा प्रयोग हुनेछन् ।
मतपत्रको माथिल्लो भागमा प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर, स्थानीय तह, वडा नम्बर तथा मतदाता क्रमसंख्या उल्लेख गरिएको छ । साथै मतदान अधिकृत र मतदाताको हस्ताक्षरका लागि छुट्टै स्थान छुट्याइएको छ, जसले मतको वैधता सुनिश्चित गर्ने आयोगको दाबी छ ।

निर्वाचन आयोगले मत बदरको जोखिम न्यूनीकरण गर्न मतदातालाई मतदान केन्द्रमै स्पष्ट निर्देशन दिइने जनाएको छ । आयोगका अनुसार मतपत्रको डिजाइन सरल, स्पष्ट र बुझ्न सजिलो बनाइएको छ, जसले मतदातालाई आफ्नो मत अधिकार प्रयोग गर्न सहज बनाउनेछ ।

राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको यस निर्वाचनमा सार्वजनिक गरिएको मतपत्रले निर्वाचनको औपचारिक तयारी अन्तिम चरणमा पुगेको संकेत दिएको छ । आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय