काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राधाकृष्ण महर्जनको निर्वाचन परिचालन समिति गठन गरेको छ ।

काठमाडौं कलंकीस्थित मेरिगोल्ड भेन्यूमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय, जिल्ला तथा क्षेत्रीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममार्फत निर्वाचनलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यसहित क्षेत्रीयस्तरमा समिति गठन गरिएको पार्टीले जनाएको छ ।

कार्यक्रममा उम्मेदवार राधाकृष्ण महर्जनले विगतदेखि नै आफू श्रमिक, किसान र उत्पीडित वर्गको पक्षमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै यसपटक काठमाडौं–९ का जनताको विश्वास र समर्थनसहित संसदमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीतिक स्थिरता, सामाजिक न्याय, सुशासन र जनमुखी विकास आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो ।

नेकपाका नेताहरूले वर्तमान राजनीतिक व्यवस्थाप्रति जनतामा बढ्दो असन्तुष्टि रहेको उल्लेख गर्दै वैकल्पिक राजनीतिक शक्तिको रूपमा नेकपाले जनताको आवाज प्रतिनिधित्व गर्ने दाबी गरे । उनीहरूले काठमाडौं–९ लाई परिवर्तनको केन्द्र बनाउने लक्ष्यसहित संगठित रूपमा चुनावी अभियान अघि बढाइने बताए ।

कार्यक्रममा निर्वाचन परिचालन समितिका पदाधिकारी तथा सदस्यहरूको परिचय गराइएको थियो भने आगामी दिनमा घरदैलो अभियान, टोलस्तरीय भेला, जनसंवाद र प्रचार–प्रसार कार्यक्रमलाई तीव्रता दिइने बताइएको छ ।
नेकपाले काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा संगठन सुदृढ गर्दै चुनावी प्रतिस्पर्धामा सशक्त रूपमा उत्रिने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय