काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ मा मतदान स्थल निर्धारणका विषयमा सर्वपक्षीय छलफल सम्पन्न भएको छ । निर्वाचन कार्यालय काठमाडौंले आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

निर्वाचन कार्यालय परिसरमा सम्पन्न छलफलमा मतदान स्थलको स्थान, मतदाताको सहज पहुँच, सुरक्षा व्यवस्थापन तथा भौतिक पूर्वाधारका विषयमा दलहरूले आ–आफ्ना धारणा राखेका थिए । विशेषगरी विगतका निर्वाचनमा देखिएका समस्या दोहोरिन नदिन मतदान स्थल निर्धारण गर्दा सावधानी अपनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

छलफलमा सहभागी दलहरूले निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा समेत गम्भीर चासो व्यक्त गरेका छन् । उनीहरूले निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन सबै दल र उम्मेदवारले आचारसंहिता पूर्णरूपमा पालना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

यसैक्रममा केही राजनीतिक दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । उनीहरूले रास्वपाले निर्वाचन प्रचारप्रसार तथा गतिविधिमा आचारसंहिताविपरीत कार्य गरेको दाबी गर्दै आयोगबाट तत्काल छानबिन र आवश्यक कारबाही हुनुपर्ने माग गरेका छन् ।

दलहरूको गुनासोपछि निर्वाचन कार्यालयका अधिकारीहरूले आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीहरू आयोगसम्म पु¥याइने र कानुन तथा मापदण्डअनुसार आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन् । साथै मतदान स्थल निर्धारणका विषयमा दलहरूबाट प्राप्त सुझाव र आपत्तिलाई समेटेर अन्तिम निर्णय लिइने जनाएको छ ।

निर्वाचन कार्यालयले काठमाडौं–९ मा हुने उपनिर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षको सहयोग अपरिहार्य रहेको भन्दै आचारसंहिता पालना गर्न पुनः आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय