नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन्। ओलीले महाधिवेशनले लोकप्रियता र अलोकप्रियतासम्बन्धी सिर्जना गरिएका भाष्यलाई जवाफ दिएको बताए।
उनले देशमा को लोकप्रिय छ भन्ने चर्चा चुनावसम्म रहने भन्दै कतिपयले प्रधानमन्त्री नै बनाइसकेको तर महाधिवेशनले अर्को जवाफ दिने तयारी गरेको पनि उल्लेख गरे।अध्यक्ष ओलीले भने, “हामी चुनाव पर्खिरहेका छौँ। महाधिवेशनबाट धेरै कुराको जवाफ दिएजस्तै अब हुने निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिनेछौँ। त्यसका लागि हामी तयार छौँ।” उनले विशाल एमाले र कांग्रेस देखेर लोकतन्त्रले नै जित्ने विश्वास व्यक्त गरे। त्यसैगरी, रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौंका मेयर बालेन शाहबीचको एकतालाई ‘दुब्लाहरूको मोर्चाबन्दी’ भन्दै ओलीले कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने बताउँदै अरू पनि मोर्चा हुने स्पष्ट पारे।






