संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ मा गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गरिएको छ।



समितिलाई २१ दिनको समय दिइएको छ। समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र शुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य सदस्य हुनुहुन्छ । यस्तै माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्की सदस्य हुनुहुन्छ । यसअघि, शनिबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग विशेष समिति गठनसम्बन्धी छलफल गर्नुभएको थियो । छलफलमा छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिन सहमति भएको थियो। समितिको कार्यादेश र औपचारिक घोषणा आज प्रतिनिधिसभा बैठकमा हुने बताइएको छ। तर समिति गठन प्रक्रियामा राजनीतिक विवाद पनि देखिएको छ। विशेषतः समितिको नेतृत्व नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारलाई दिने तयारीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेतृत्वबारे छलफल हुँदा रास्वपाले नेतृत्व कांग्रेसलाई दिनु उपयुक्त नहुने बताएको थियो। संसदमा रास्वपा सांसद मनिष झाले जुन दलसँग सम्बन्धित दलका नेताका बारेमा प्रश्न उठेको छ ती दलका नेताको संयोजकत्वमा समिति गठन नगर्ने सहमति एक वर्षअघि भएको भन्दै समिति मान्य नहुने बताउनुभयो ।
संघीय निजामती सेवा विधेयकको दफा ८२ मा “कुनै निजामती वा सरकारी सेवामा अवकाश वा राजीनामा दिएको कर्मचारीले दुई वर्षसम्म अन्य सरकारी नियुक्ति लिन नपाउने” व्यवस्था थियो। तर, त्यसको उपदफा ५ मा “संवैधानिक, कूटनीतिक वा सरकारी नियुक्ति बाहेक” भन्ने वाक्य थपेर कुलिङ अफ पिरियडलाई निष्प्रभावी बनाइएको छ। यही प्रावधान परिवर्तनबारे गम्भीर विवाद उठेपछि छानबिन आवश्यक ठानिएको हो। यस प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि पनि प्रश्न उठाइएको छ।



