मकवानपुर-  कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढ्दै गएपछि पहिलो चेतावनी जारी गरिएको छ। जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण जलाशयमा पानीको मात्रा बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पहिलो चेतावनी जारी गरेको हो। जलाशयमा पानीको सतह निरन्तर बढिरहेको र आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

आयोजनाका अनुसार जलाशयको जलसतह नियन्त्रण गर्न ड्यामका ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना जारी गरिनेछ। त्यसअघि पूर्वचेतावनीस्वरूप साइरनसमेत बजाइने आयोजनाले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै ड्यामको तल्लो तटीय क्षेत्र तथा नदी किनार आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई खोला किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

त्यस्तै, उक्त क्षेत्र भएर आवतजावत गर्ने देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन पनि आयोजनाले अनुरोध गरेको छ। यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। वर्षा निरन्तर भइरहेकाले अबको केही घण्टामै जलसतह १ हजार ५२८ मिटर पार हुन सक्ने उनले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी अधिकारीले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, सम्भावित विपद्बाट जोगिन आयोजनाबाट जारी हुने आधिकारिक सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएस सतर्कता सन्देशमा उल्लेखित निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन्।जलाशयमा पानीको सतह बढ्दै गएकाले तल्लो तटीय क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउन र आधिकारिक सूचनालाई ध्यान दिन आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय