नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्ना प्रस्ताव र प्रतिवेदन पेश गरेका छन् । जसमा विगतमा पार्टीले आम मतदाताको भावनाअनुसार काम गर्न नसकेकोमा आत्मालोचना गरिएको छ भने पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयलाई प्रमुखताका साथ राखिएको छ । महामन्त्री थापाले ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्न पर्ने देशका लागि’ भन्ने मुख्य संकल्पका साथ समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । यस्तै विश्वप्रकाश शर्माले समुन्नतीको नयाँ यात्रालाई मुख्य थिम बनाएर प्रतिवेदन पेश गर्नुभएको छ ।



के छ महामन्त्री गगन थापाको प्रतिवेदनमा ?
विशेष महाधिवेशनको औचित्य र पृष्ठभूमि
गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई पार्टीले एक विशिष्ट मोडको रूपमा लिएको । यस आन्दोलनले कुशासन, भ्रष्टाचार र असफल नेतृत्वको निरन्तरता विरुद्ध जनताको आक्रोश व्यक्त गरेको । सरकार र संसदको ठूलो दल हुँदाहुँदै पनि समयमै विसंगतिहरूलाई रोक्न नसक्नु पार्टीको कमजोरी ।
राजनीतिक र सांगठनिक संकल्प
‘बदलिएको समयको कांग्रेसका लागि, बदल्न पर्ने देशका लागि’) भन्ने नाराका साथ पार्टीलाई गतिशील र आधुनिक बनाउने लक्ष्य ।
जेनजीको भावनालाई सम्मान गर्दै पार्टीको हरेक तह र राज्यका निकायमा उनीहरूको अर्थपूर्ण र निर्णायक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता । स्थापनाकालीन लोकतान्त्रिक आदर्शहरूलाई कायम राख्दै समय अनुसारको आधुनिक संगठन बनाउने संकल्प । उम्मेदवार चयनको परम्परागत प्रणालीले लोकप्रियता, योग्यता र न्यायलाई समेट्न नसकेको स्वीकारोक्ति । उम्मेदवार चयनमा पारदर्शिता ल्याउन प्राइमरी निर्वाचनलाई पाइलट प्रोजेक्टको रूपमा सुरु गर्दै क्रमश सबै तहमा लागू गर्ने प्रतिबद्धता ।
सुशासन र आर्थिक दृष्टिकोण
भ्रष्टाचारको अन्त्य, पारदर्शिता र सूचनाको हकको पूर्ण कार्यान्वयनलाई मुख्य प्राथमिकता । रेमिट्यान्समा आधारित अर्थतन्त्रको निर्भरता घटाउँदै उत्पादन, कृषि, उद्योग, ऊर्जा र प्रविधिमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य ।
विगतमा सत्ता केन्द्रित सहकार्य र निर्णयहरूका कारण सिर्जित राजनीतिक संकटप्रति पार्टीले गम्भीर आत्मसमीक्षा गर्दै जनतासँग क्षमा याचना ।)
वर्तमान चुनौतीहरू
सामाजिक सञ्जालमार्फत् फैलिएको सतही र लोकरिझ्याइँको राजनीतिलाई जिम्मेवार राजनीतिक संवादमार्फत परास्त गर्ने चुनौती । युवा पुस्तामा कांग्रेसप्रति देखिएको वितृष्णा र अविश्वासलाई हटाएर उनीहरूमा आशा जगाउनु आजको मुख्य चुनौती ।
राष्ट्रिय जिम्मेवारी
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म अनुसार कार्यान्वयन गर्दै मुलुकलाई समुन्नत बनाउने जिम्मेवारी । भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गर्नु र लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहनुलाई पार्टीले आफ्नो मुख्य दायित्व ।)
महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावमा के छ ?
आत्मसमीक्षा र क्षमायाचना
सरकार र संसदको सबैभन्दा ठूलो दल भएर पनि नागरिकको चरम असन्तुष्टिलाई समयमै चिन्न र सम्बोधन गर्न नसकेको । पार्टीको ड्राइभिङ सिटमा रहेकाले असफलताको भागिदार आफूहरू पनि भएको स्वीकार गर्दै पुरानै ढर्राले अब चल्न नसकिने कुरा उल्लेख ।
जेनजी आन्दोलन
जेनजी आन्दोलन लोकतान्त्रिक प्रणालीविरुद्ध नभई प्रणालीभित्रको खराबी, भ्रष्टाचार र कुशासन विरुद्ध भएको ठहर । नयाँ पुस्ताको नजरमा पार्टीलाई स्वीकार्य बनाउन कांग्रेसको पुनर्निर्माण र रिब्रान्डिङ गर्नुपर्ने आवश्यकता ।
सद्भाव, सुशासन र समुन्नतिको संकल्प
आपसी विमति र मनोवैज्ञानिक द्वन्द्वलाई चिर्दै समाजमा समन्वय र सद्भाव कायम गर्ने कांग्रेसको मुख्य कार्यभार ।
भ्रष्टाचार नियन्त्रणका लागि नियमनकारी निकायमा मेरिटोक्रेसी लागू गर्ने, डिजिटल प्रणालीमार्फत सेवा प्रवाह सरल बनाउने र राजनीतिक दलहरूको खर्च पारदर्शी बनाउने ।
विगतका उपलब्धिहरूलाई जोगाउँदै उत्पादनमुखी अर्थतन्त्र, शिक्षा र स्वास्थ्यमा सुधार मार्फत समुन्नत नेपालको मार्गचित्र कोर्ने संकल्प ।
संगठनात्मक र नीतिगत सुधार
कांग्रेसको नाम, झण्डा र विचारलाई कायम राख्दै शैली र व्यवहारमा साँचो अर्थमा नवीनता ल्याउने ।
विश्वविद्यालय, अस्पताल र कूटनीतिक नियोगहरूमा हुने दलीय भागबन्डाको अन्त्य गरी योग्य व्यक्ति छनोट गर्ने विधि बसाल्ने । मुलुकको राष्ट्रपति पदमा कुनै पनि व्यक्ति एक पटक मात्रै हुन पाउने ।देशको प्रधानमन्त्री पदमा कुनै पनि व्यक्ति बढीमा दुई कार्यकाल मात्रै रहन पाउने । कुनै पनि व्यक्ति आफ्नो राजनीतिक जीवनमा बढीमा तीन पटक मात्रै मन्त्री बन्न पाउने ।संघीय सांसद वा प्रदेश सभा सदस्यको उम्मेदवार बढीमा चार पटक मात्रै हुन पाउने ।
आगामी कार्यदिशा
२०६२÷६३ को आन्दोलनले स्थापित गरेका उपलब्धिलाई असर नपर्ने गरी पछिल्लो युवा विद्रोहको भावनालाई सम्बोधन गर्ने ।
राष्ट्रिय गौरवका आयोजना र दीर्घकालीन महत्वका विषयमा सरकार बदलिँदा पनि नबदलिने गरी दलहरूबीच राष्ट्रिय सहमति कायम गर्ने ।
महामन्त्री शर्माको प्रस्तावले मुख्यतया कांग्रेसलाई पुरानो भावना र नवीन सम्भावनाको पार्टी बनाउने र विगतका गल्ती सुधार्दै सुशासनको माध्यमबाट नागरिकमा नयाँ विश्वास जगाउने लक्ष्य राखेको देखिन्छ ।



