के सरकार फेरिन लागेको हो त ?

फेरि एकपटक सरकार परिवर्तनको चर्चा सुरु भएको छ । कांग्रेस–एमालेको वर्तमान सत्ता समीकरण तोड्ने प्रयास स्वरुप अहिले कांग्रेसलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदको पहिलो दलको हैसियतमा सरकार बनाउन दिने गरी छलफलहरु अघि बढाइएका छन् । त्यसका लागि माओवादी केन्द्रले कांग्रेस नेतृत्वसँग छलफल थालिसकेको स्रोतको दाबी छ । माओवादी केन्द्र, रास्वपासहितका दलले बाहिरबाट समर्थन गरेर उपधारा ३ प्रयोगमा ल्याउने प्रयत्न भएको खुलेको छ ।

https://s.daraz.com.np/s.hKHo

अस्थिर सरकारले नागरिकमा असन्तोष पैदा गरेको भन्दै संविधान संशोधनसहितको एजेण्डा बोकेर कांग्रेस एमाले गएको असार १७ गते सत्तायात्राको समझदारीमा पुगे । साना दलको समेत साथ पाएका यी दुईठूला दलको दुईतिहाइको बहुमतको सरकारले पनि आशा जगाउन सकेन । यही आक्रोशले राजासमर्थितहरुको मनोवल बढेकोभन्दै माओवादी केन्द्रसहितका दलले कांग्रेसलाई एकल सरकार चलाउन प्रस्ताव नै गरिसकेका छन् । उनीहरुले संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको पहिलो दलको हैसियतमा सरकार बनाउन प्रस्ताव गरेपछि कांग्रेसमा हलचल उत्पन्न भएको छ ।

त्यसैको परिणाम स्वरुप हुनसक्छ कांग्रेस नेता शेखर कोइरालाले एमालेसँगको समझदारीमा कांग्रेसले नेतृत्व गर्ने कुरा भएको तर, पछि एमालेले नै नेतृत्व गरेको प्रसंग उठाउनुभएको थियो । उहाँले वर्तमान समीकरणको विरोध पनि सुरु गर्नुभएको छ । अहिले कांग्रेसले उपधारा ३ बमोजिम सरकार बनाए माओवादी केन्द्र, रास्वपा लगायत साना दलले बाहिरबाट समर्थन गरेर बहुमत पुर्याइदिने प्रस्ताव गरेका हुन् । यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको बुझिएको छ । तर, कांग्रेसले संविधानको धारा ७६ को उपधारा ३ मा सरकार बनाउँदा बाहिरबाट समर्थन गर्ने दलहरुको दबदबा हुनसक्ने भएकाले काम गर्न नसकिने र अलोकप्रिय बन्ने खतरा रहने बताउँदै आएको छ ।

त्यसैले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकार फेरिने अवस्था नै आए संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै हुने बताउनुभएको छ । उहाँले अहिले गठबन्धन नभत्किने दाबी गर्नुभएको छ । सरकार फेर्न दुई वा दुईभन्दा बढी दलको समर्थन रहने अवस्था रहेसम्म उपधारा २ नै प्रयोग हुने सर्वोच्च अदालतले व्याख्या गरिसकेको छ । त्यसैले उपधारा ३ मा जाने अवस्था कमजोर रहेको कांग्रेस नेताहरुको दाबी छ । तर, माओवादी केन्द्र उच्च स्रोत भने उपधारा ३ मा कांग्रेसलाई सहयोग गरेर आफूहरु बाहिर बस्नका लागि माओवादीसहित रास्वपा तयार रहेको बताउँदै आएका छन् । माओवादी केन्द्रले त चैतको अन्तिमसम्ममा वर्तमान सरकार ढल्ने र कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेको छ । उपधारा ३ बमोजिमको सरकार गठनमा कांग्रेस सहमत नबने उपधारा २ बमोजिम माओवादी केन्द्र, रास्वपासहित केही साना दल बोकेर कांग्रेस नेतृत्वमा सरकार बन्नेगरीका छलफलहरु पनि चलिरहेका छन् ।

यसको पृष्ठभूमिमा विभिन्न शक्ति सक्रिय बनेका छन् । प्रष्टरुपमा भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत संस्थापन अनुदार बनेको छ । अर्थात भारतले ओली नेतृत्वको सरकारलाई रुचाएको छैन । उसले ओलीलाई भ्रमणको निम्ता नदिएर आफ्नो असन्तुष्टि दर्शाएको छ । प्रधानमन्त्री ओली भने भारत फकाउने अभियानमै जुट्नुभएको छ । उहाँले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन पटक दिल्ली पठाइसक्नुभएको छ । गएको भदौमा देउवालाई भारतले रेडकार्पेट विच्छ्याएको थियो । उसले त्यसबेला कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाओस् भन्ने चाहना प्रष्टसँगै राखिदिएको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको प्रस्ताव अस्वीकार गरिदिनुभयो ।

त्यसपछि पनि ओली–भारत सम्बन्ध सुधारका लागि गएको पुस ४ गते देउवा युरोप भ्रमण लगतै दिल्ली पुग्नुभएको थियो । त्यसबेला भारतले देउवालाई अन्देखा नै गरिदियो । अहिले पनि रायसिना डाइलगमा भाग लिन साता दिन अघि नै परराष्ट्रमन्त्री देउवा भारत जानुभयो । तर, उहाँले सोचेजस्तो उच्च छलफलका लागि समय दिइएन । ओलीसँग रुष्ट भारतले पछिल्लो समय त परराष्ट्रमन्त्री देउवासँग पनि असन्तुष्टि रहेको सन्देश दियो । कारण थियो, चीनसँगको बीआरआई फ्रेमवर्कमा हस्ताक्षर । यो हस्ताक्षर देउवाकै पहलमा सम्भव भएको भारतको निश्कर्ष छ । त्यसपछि भारतले कांग्रेस संस्थापन आफ्नो अनुकुल नरहेको निश्कर्ष निकाल्दै कांग्रेसभित्र र माओवादीसहितका दललाई फकाउन थालेको छ । त्यसबाहेक तर्साउनैका लागि पूर्वराजा ज्ञानेन्द्रलाई उचालेर दलहरुलाई साइजमा ल्याउने ध्याउन्नमा भारत पुगेको स्रोतहरु बताउँछन् ।

अहिले भारतसँग तुलनात्मकरुपमा लचक ठानिएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रयोग गर्दैै सत्ता समीकरण फेर्ने खेल सुरु भएको बताउने गरिएको छ । त्यसैको कडि स्वरुपमा संविधानको धारा ७६ को उपधारा ३ का आधारमा कांग्रेसलाई सरकार चलाउन दिने गरी छलफलहरु अघि बढेका छन् । यो विषय किन पनि आएको छ भने प्रचण्ड गएको असारमा एमाले अध्यक्ष ओलीलाई सत्ता सुम्पिनुभन्दा उपधारा ३ बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनुन भन्ने चाहनुहुन्थ्यो । उहाँले त्यसबेला सार्वजनिकरुपमै यो अभिव्यक्ति दिनुभएको थियो । अहिले आफ्नो मनशाय पनि पुरा हुने र ओलीको सत्ता बहिगर्मन सम्भव हुने उद्देश्यले प्रचण्डले उपधारा ३ को प्रस्ताव गरेको बुझिएको छ । हालसम्म कांग्रेस सभापति देउवाले यो प्रस्तावमा ‘ग्रिन सिग्नल’ दिइसक्नुभएको छैन । तर, आरजु राणा देउवा नेपाल फर्किएपछि सत्ता समीकरणको फेरबदलले मूर्तरुप लिनसक्ने अनुमानहरु हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय