काठमाडौं । गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती आफ्नै कोठाभित्र मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार मुसिकोट नगरपालिका–९, गुल्मी घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ मृत फेला परेकी हुन् ।
प्रहरीले युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी तथा आफन्तको उपस्थितिमा बाहिरबाट लगाइएको ताल्चा खोली कोठा जाँच गर्दा सापकोटा खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको टाउको, घाँटी र दाहिने हातको नाडीमा धारिलो हतियार प्रहारजस्तो देखिने चोट तथा अनुहारमा निलडाम भेटिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । घटनाको प्रकृति शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल गैँडाकोटमा एक्लै बस्दै आएकी थिइन् । गत फागुन १० गते गुल्मीबाट फर्किएपछि माइती पक्षसँग सम्पर्कविहीन रहेको तथ्य पनि खुलेको छ ।
घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



