विराटनगर स्कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच औपचारिक संवाद सुरु भएको छ । नयाँ समीकरण बनेसँगै प्रदेश सरकारको स्वरूप परिवर्तन हुने भएको हो । उता, वर्तमान सरकारमा सहभागी नेपाली कांग्रेस भने केही दिनमै सरकारबाट बाहिरिने तयारीमा छ ।
विराटनगरस्थित मुख्यमन्त्री निवासमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताबीच गहन छलफल भयो । नयाँ राजनीतिक समीकरण बनेपछि पहिलो पटक भएको औपचारिक छलफलमा मन्त्रालयको बाँडफाँट, सरकारको साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकन मुख्य एजेन्डा बनेको छ। बैठकपछि नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आगामी सोमबारसम्म सबै विषयलाई प्याकेजमै टुङ्ग्याउने गरी छलफल अघि बढेको बताउनुभयो ।



नयाँ सत्ता समीकरणको अर्को महत्वपूर्ण विषय बजेट पुनरावलोकन हो ।अघिल्लो सरकारले ल्याएको बजेटलाई नयाँ राजनीतिक समीकरण र प्राथमिकताअनुसार परिमार्जन गर्ने तयारी भइरहेको छ । पूरक बजेट वा अन्य संवैधानिक तथा कानुनी प्रक्रियामार्फत बजेटलाई नयाँ स्वरूप दिने गृहकार्यमा दुवै दल जुटेका छन् ।
प्रदेशको नामकरणलाई लिएर जारी पहिचानवादी आन्दोलन पनि नयाँ सरकारका लागि चुनौतीका रूपमा देखिएको छ । आन्दोलनरत पक्षसँग संवादमार्फत समाधान खोज्न एमाले लचिलो देखिएको नेताहरूको भनाइ छ । यता, वर्तमान सरकारमा सहभागी नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने तयारीमा छ । तर, कांग्रेस तत्काल सरकारबाट बाहिरिएको छैन ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएकाले केही कानुनी र प्राविधिक पक्ष मिलाएर मात्रै सरकारबाट बाहिरिने कांग्रेसको भनाइ छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै दललाई समेटेर सर्वदलीय सरकार बनाउने इच्छा व्यक्त गरे पनि केन्द्रको निर्णयअनुसार कांग्रेस प्रतिपक्षमा बस्ने तयारीमा छ । साउन २४ गते केन्द्रमा हुने दलहरूको बैठकपछि कोशीमा कांग्रेसको बहिर्गमनले औपचारिकता पाउने र त्यसलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने देखिएको छ । एमाले र नेकपाबीचको सहकार्यले प्रदेशमा राजनीतिक स्थिरता कायम हुने दाबी नेताहरूको छ । मन्त्रालय बाँडफाँट, बजेट पुनरावलोकन र साझा कार्यक्रमबारे सहमति जुटे अबको केही दिनमै कोशी प्रदेशले नयाँ मन्त्रिमण्डल पाउने देखिएको छ ।



