काठमाडौं । अविरल वर्षाले सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० वटा गेट खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार सेक पुगेपछि ५६ मध्ये ५० ढोका खोलिएको जनाएको छ ।
शनिबार बिहान सवा ८ बजे नदीको जलबहाव मापन गरिएको थियो भने बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा १ लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाब उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको बहाव घटेको थियो ।



शुक्रबार र शनिबार लगातार वर्षा भएकोले आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिन्छ । अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।



