काठमाडौं । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ । सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिका साथै बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाबारे शुक्रबार बिहान बसेको बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठकमा छलफल गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेश प्रदेशमा देखिएको हिंसात्मक गतिविधि तथा बागमती प्रदेशको सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो ।



छलफलका क्रममा मुख्यमन्त्री बानियाँले सुनसरी घटनापछि उत्पन्न परिस्थिति अन्य प्रदेशमा समेत फैलिन सक्ने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षा निकाय र सरोकारवाला निकायबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए । उनले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सहयोग पुग्ने गरी जिम्मेवार ढंगले काम गर्न सुरक्षा संयन्त्रलाई निर्देशन समेत दिएका छन् ।
बैठकमा मुख्यमन्त्री बानियाँले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न प्रदेशभित्र क्रियाशील राजनीतिक दलका प्रमुख तथा धार्मिक संघ–संगठनका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको जानकारी गराएका थिए ।
बैठकमा बागमती प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा अवस्था, चुनौती र आगामी रणनीतिबारे जानकारी गराएका थिए ।



