सप्तरीको कञ्चनरुप नगरपालिका, जगतपुर क्षेत्रमा किसानहरू जंगली जनावरहरूको प्रकोपले गम्भीर समस्या भोगिरहेका छन्। कोसी टप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली जनावर जस्तै अर्ना, घोडा, गदाहा, मृग र हात्तीले किसानका बाली नष्ट गर्ने गरेकाछन्, जसका कारण थुप्रै खेतीयोग्य जमिन वर्षौदेखि बाँझो नै रहेको छ।



किसानहरूको भनाइ अनुसार, रोजगारीको अभावमा र बालीको रक्षा गर्न नसक्दा उनीहरूले गहुँ जस्ता नगदेबाली लगाउन छोडेका छन्। “दैनिक ५० भन्दा बढी अर्ना हाम्रो खेतमा आउँछन् र बाली नष्ट गर्छन्, जसले गर्दा हामी खेती गर्न सक्दैनौं,” एक किसानले भने।
यस समस्याले किसानहरूको जीवनयापनमा ठूलो असर पारेको छ। केही किसानहरूले रातभर जाग्राम बस्ने प्रयास गरे पनि जंगली जनावरबाट बचाउन सफल हुन सकेका छैनन्। यस कारण किसानहरू अन्यत्र रोजगारको खोजीमा जान बाध्य भएका छन्। किसानहरूले यस समस्यालाई समाधान गर्न सरकारी पहलको माग गरेका छन्। कोसी टप्पु वन्यजन्तु आरक्ष प्रशासनले केही वर्ष पहिले सोलार फेन्सिङ्ग जडान गरेपनि त्यो पूर्ण रूपमा कार्यान्वयनमा नआएकाले यसले जंगली जनावरहरूको प्रकोपलाई रोक्न सकेको छैन।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, “म यस समस्यामा सम्बन्धित निकायसँग समन्वय गर्दै पहल गर्नेछु।” कृषकहरूले सरकारबाट क्षतिपूर्ति र प्रभावकारी समाधानको माग गरेका छन्। उनीहरू विश्वास गर्छन् कि तिनै तहको सरकारको ध्यान जानुपर्छ, ताकि बाँझो रहेका खेतीयोग्य जमिनलाई उब्जाउ बनाउन सकियोस्।



