बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा बुधबार बिहान फसेका उनीहरू मृत अवस्थामा फेला परेका हुन्।
मृत्यु हुनेमा कालु थारु, प्रकाश थारु र बिर्जा थारु रहेका छन्। उनीहरू घर निर्माणको क्रममा मिस्त्री तथा मजदुरीको काम गरिरहेका बेला ट्याङ्कीभित्र फसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।



घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र डम्मरपालको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर बिहान करिब १० बजे तीनै जनाको शव बाहिर निकालेको हो। मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।



