काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।



अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो । पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २५÷२५ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ बढेको छ । यस्तै निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँका दरले बढाएको छ ।
नयाँ मूल्यसूची अनुसार अब काठमाडौ उपत्यकासहित तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको निगमको दाबी छ । निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह पनि गरेको छ ।



