काठमाडौ । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन ऐन २०८० मा उठेको प्रश्न र भ्रम चिर्न भन्दै चन्द्रागिरि नगरपालिकाले नगरको १५ वटै वडामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । अन्तरक्रिया कार्यक्रमको थालनी वडा नम्बर दुईबाट सुरुवात गरिएको छ ।



कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले विगत दुई वर्ष अघिदेखि नगरले खानेपानी ऐन ल्याउन कसरत गरिरहेको र अहिले ऐन ल्याउन सफल भएको बताउनु भयो । उहाँले ऐन कार्यान्वयनको पाटोमा गईसकेको र नगरले ल्याएको ऐनको उद्देश्यप्रति ढाकछोप गर्ने प्रयास भइरहेको र नगरलाई विवादित बनाउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले नगरपालिका एउटा सरकार हो, सरकार सधै जनताप्रति उत्तरदायि हुने हुँदा पैसा लिएर सहकारी संस्था जस्तो नभाग्ने पनि बताउनु भयो ।
प्रवक्ता खड्गीले नगरले नयाँ जे काम गर्न खोजिए पनि विवादित बनाउन खोज्ने र खायो भनि विना आधार आरोप लगाउने गरेकोमा आक्रोश समेत पोख्नु भयो । उहाँले नगरले जनताप्रति गलत निर्णय नगर्ने र गरेमा आफुलाई चारपाटा मुडेर नगर घुम्न तयार रहेको उल्लेख गर्नुभयो ।उहाँले नगरभित्र संचालित खानेपानी वितरण प्रणाली एकै प्रकृतिको नहुँदा समस्या आएको र रोकथामको लागि ऐनबाट बाध्न खोजिएको दाबी गर्नुभयो । उहाँले अब समितिहरुको माग कार्यविधि बनाई सम्बोधन गर्दै अघि बढ्ने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष भाईकृष्ण तामाङले जनप्रतिनिधि कुनै पनि व्यापारीक घरानाको नभएको र यदि नगरले ल्याएको यो योजना जनताप्रति लक्षित नभई व्यवसायीतिर लक्षित भए आफुले अध्यक्ष पदबाट राजीनामा दिने बताउनु भयो । उहाँले जनतामा यतिबेला पानी खान पाइँदैन कि, यहाँको पानी अन्यत्र लान लाग्योकी, समयमा विग्रिएको धारो नबन्ने होकि भन्ने विभिन्न त्रास फैलिरहेकोले यो त्रासदिबाट मुक्त हुन वडाबासीलाई आग्रह गर्नुभयो ।
मुनाफारहित खानेपानी समितिहरुले उपभोक्तालाई भोलिन्टरको रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि भोलिन्टरकै रुपमा काम गर्ने हुँदा विवाद गर्नुको कुनै अर्थ नभएको उल्लेख गर्नुभयो । उहाँले अहिले कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधिमा पानीको महसुलमा एकरुपता, धारो जडान खर्च न्यून भन्दा न्य ूनतम मूल्य लिने र मर्मत वडाले वा नगरले गर्ने, समितिका कर्मचारीको व्यवस्थापन, प्रति युनिट पानीको महसुल कति तोक्नेलगायतका विषयलाई समेटिने बताउनु भयो ।
चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन ऐन २०८० नगरपरिषबाट बहुमतले पारित गरेसँगै नगरभित्र संचालनमा रहेका खानेपानी उपभोक्ता समिति आन्दोलित हुन पुग्यो । आन्दोलनको क्रममा समितिले नगरपालिका घेराउ गर्नुको साथै विरोध पत्र पनि बुझायो । नगरपालिकाले जवरजस्ती ऐन लागु गर्न खोजेको भन्दै समितिहरु अदालतको ढोका ढकढकाउनसम्म पुगेका छन् । चन्द्रागिरि नगरपालिकाले आफुले ल्याएको ऐनमा केही तत्वले भ्रमित पार्न खोजिरहेको निष्र्कष निकालेको छ । सोही भ्रमलाई चिर्न नगरपालिकाले हरेक वडामा अन्तरक्रिया कार्यक्रम सुरु गर्न लागेको हो ।



