गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेका महिला गाउँघरमै पाइने डोउडै (निउरो) र तामालाई प्रशोधन गरी अचार उत्पादन गरेर आम्दानी गर्ने योजनामा जुटेका छन्। स्थानीयस्तरमै सहजै उपलब्ध हुने कच्चा पदार्थलाई व्यवसायसँग जोड्दै आयआर्जनको माध्यम बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमपछि महिलाहरू व्यावसायिक उत्पादनको तयारीमा लागेका हुन्।

बर्खायाममा गाउँघर तथा वनजङ्गलमा प्रशस्त पाइने डोउडै र तामालाई त्यसै खेर जान नदिई प्रशोधन गरेर बजारमा बिक्री गर्ने उद्देश्यले महिलाहरूलाई अचार बनाउने तालिम दिइएको हो।
घरेलु तथा साना उद्योग कार्यालय, गुल्मीको आयोजना तथा मालिका गाउँपालिका–५ को समन्वयमा सञ्चालन भएको तालिममा २१ जना महिलाको सहभागिता थियो। तालिममा डोउडै र तामाको छनोट तथा सरसफाइदेखि प्रशोधन, अचार बनाउने विधि, गुणस्तर कायम गर्ने, प्याकेजिङ र बजार व्यवस्थापनसम्मका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिमपछि सहभागी महिलाहरूले अब घरमै अचार उत्पादन गर्न सक्ने भएका छन्। स्थानीयस्तरमै पाइने कच्चा पदार्थको प्रयोग गरी उत्पादन सुरु गर्न सकिने भएपछि उनीहरू उत्साहित छन्।

कार्यक्रम सहजकर्ता त्रिविक्रम ज्ञवालीका अनुसार स्थानीयस्तरमा पाइने अर्गानिक सामग्रीबाट तयार हुने अचारको बजार सम्भावना राम्रो छ। तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक उत्पादन सुरु गर्न सके महिलाहरूले गाउँमै बसेर आयआर्जन गर्न सक्ने उहाँको भनाइ छ। मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले महिलाहरूले उत्पादन गर्ने अचारलाई बजारसम्म पु¥याउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो। स्थानीय स्रोत, सीप र उत्पादनलाई उद्यमसँग जोडेर महिलाको आर्थिक अवस्था सुधार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो।

छापहिलेमा बर्खाको समयमा डोउडै र तामा पर्याप्त मात्रामा पाइन्छ। डोउडै स्थानीयस्तरमा संकलन गरेर तम्घास बजारसम्म बिक्री हुँदै आए पनि त्यसलाई प्रशोधन गरी लामो समयसम्म उपयोग गर्न सकिने उत्पादन बनाउने अभ्यास भने न्यून थियो। अहिले अचार बनाएर बिक्री गर्ने योजना अघि बढेपछि स्थानीय कच्चा पदार्थको सदुपयोगसँगै त्यसको मूल्यसमेत बढ्ने अपेक्षा गरिएको छ। बर्खामा मात्र उपलब्ध हुने डोउडै र तामालाई अचारका रूपमा प्रशोधन गरेर वर्षभरि बिक्री गर्न सके महिलाहरूका लागि नियमित आम्दानीको स्रोत बन्न सक्ने सम्भावना छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय