काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीका ३० भन्दा बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् ।



सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा शनिबार सभापति थापालाई भेट्न पुगेका नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको नेतृत्व परिवर्तन उचित नहुने धारणा व्यक्त गरेका हुन् । नेताहरूले मुलुक, संविधान र पार्टीसमक्ष विभिन्न चुनौती देखिएको उल्लेख गर्दै यस्तो अवस्थामा थापाको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनीहरूले आगामी महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध राख्न र संगठनलाई सुदृढ बनाउन थापाले नेतृत्व सम्हालिरहनुपर्ने सुझाव दिएका छन् ।
भेटका क्रममा नेताहरूले निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएकाले त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताएका थिए । मतदाताले कहिलेकाहीँ आफ्नो निर्णय परिवर्तन गर्न सक्ने भन्दै त्यसलाई अन्यथा लिन नहुने उनीहरूको धारणा थियो । हालै सम्पन्न २०८२ फागुन २१ को आम निर्वाचनमा अपेक्षित परिणाम नआएपछि पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा सुरु भएको छ ।
यसैबीच थापाले केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले राजीनामाबारे सोचिरहेको संकेत दिएका थिए । सभापति थापालाई भेट्न केन्द्रीय सदस्यहरू जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, बिष्णु पाण्डे र सीता मिजारलगायत सहभागी भएका थिए । नेताहरूले पार्टीभित्र एकता कायम राख्दै आगामी दिनमा संगठन सुदृढ बनाउने विषयमा समेत छलफल गरेका थिए ।



