काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयले सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा एक युवकको गोली लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ ।
प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । समितिका अन्य सदस्यमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा रहेका छन् ।



समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । प्रदर्शनका क्रममा गोली लागेर सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरका १५ वर्षीय युवक गणेश यादवको मृत्यु भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले बिहीबार नै छानबिन समिति गठन गरेको हो ।



