काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले देशमा महिला हिंसा अन्त्य गर्न गरिबीको अन्त्य प्राथमिक पूर्वशर्त भएको बताएकी छन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मंगलबार आयोजित कार्यक्रममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले आर्थिक समानता नआइकन हिंसा रोक्न मुश्किल हुने धारणा राखिन्।



‘गरिबी रहँदासम्म समानता हुँदैन, उनले भनिन्, ‘खानै छैन भने घरमा के को समानतारु पहिले गरिबी हटाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ, महिलाले पनि काम गर्ने अवसर पाउनुपर्छ। त्यसपछि मात्र हिंसाको अन्त्य हुन्छ।’ प्रधानमन्त्री कार्कीले देशमा बेरोजगारीको अवस्था गम्भीर रहेको उल्लेख गर्दै रोजगारीको खोजीमा विदेश जानुपरेका महिलाहरू विभिन्न प्रकारका हिंसामा परेको तथ्यले चिन्तित बनाएको बताइन्।
‘विदेशमा रोजगारीका नाममा महिलाहरू प्रताडित भएका घटना निकै छन्, यसको अन्त्य अनिवार्य छ,’ उनले भनिन्। उनका अनुसार गरिबी हटाउन सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो र सुशासन मजबुत बनाउन सके मात्रै दीगो परिवर्तन सम्भव छ। सरकारमा आएपछि महिलालाई प्राथमिकतासहित जिम्मेवारी दिने प्रयास रहेको उनले बताइन्। ‘जहाँ महिलालाई अगाडि ल्याउन सकिन्छ, मैले त्यसैमा प्राथमिकता दिएको छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर वर्षौँसम्म मेहनत गरेर पहिलो नम्बरमा रहेका पुरुषलाई बञ्चित गर्ने कुरा हुँदैन। योग्यताअनुसार सबैलाई अवसर दिनुपर्छ।’



