पश्चिम तराईका जिल्लाहरूमा पछिल्लो एक सातादेखि अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबार लागि जारी गरेको मौसम पूर्वानुमान अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा अत्यधिक तापक्रम बढ्ने भन्दै सतर्कता अपनाउन भनेको छ । धनगढीको तापक्रम सबैभन्दा धेरै ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भइरहेको छ ।
अत्यधिक गर्मीकै कारण कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा तालिमरत सात जना सशस्त्र प्रहरी जवान हिजो बेहोस भएका छन् । आधारभूत तालिमअन्तर्गत दौडका क्रममा उनीहरू बेहोस भएका हुन् । कैलालीमा शुक्रबार न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । पछिल्लो एक सातायता यहाँको अधिकतम तापक्रम ३९ देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ । दिउँसो कडा घाम र तातो हावाका कारण बजार, सडक तथा सार्वजनिक स्थानमा मानिसको चहलपहल समेत घटेको छ । तापक्रम बढेपछि सवै भन्दा समस्या मजदुर लाई छ ।



चर्को गर्मीका कारण बालबालिकालाई विद्यालय पठाउन समेत कठिनाइ भएको अभिभावकहरूले बताएका छन् । स्वास्थ्यमा असर पर्ने जोखिम बढेपछि विद्यालयहरू बिहानको समयमा मात्र सञ्चालन गर्नुपर्ने माग अभिभावकहरूको छ । गर्मी बढेसँगै सार्वजनिक सवारी चालक र व्यवसायीहरू समेत प्रभावित भएका छन् । दिउँसो मानिसको आवतजावत कम हुँदा यातायात तथा बजार व्यवसायमा गिरावट आएको छ ।
उता, अत्यधिक गर्मीका कारण अस्पतालहरूमा बिरामीको चाप पनि बढ्न थालेको छ। चिकित्सकहरूले गर्मीबाट बच्न अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्किन, प्रशस्त पानी पिउन, छाता प्रयोग गर्न तथा तरभुजा, काँक्रा, उखुजस्ता चिसो फलफूल सेवन गर्न सुझाव दिएका छन्। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सकेसम्म घरभित्र सुरक्षित रहन आग्रह गरिएको छ।
पश्चिम तराईमा बढ्दो गर्मीले जनस्वास्थ्य, शिक्षा, यातायात तथा दैनिक जनजीवनमा प्रत्यक्ष असर पारेको देखिएको छ । मौसम अझै केही दिन अत्यधिक तातो रहने अनुमान गरिएकाले सतर्कता अपनाउन र स्थानीय तहले समेत गर्मीबाट बच्ने उपायबारे जनचेतना फैलाउन आवश्यक देखिन्छ ?



