गुल्मीमा पहिरोका कारण कालीगण्डकी करिडोर सडक अबरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगत रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि गए रातीदेखि उक्त सडक पुर्ण रुपामा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रुरुक्षेत्र गाउँपालिका एक अन्र्तगत रिडी बजारदेखि नजिकै रहेको बिष्णुपञ्जरमा गएराती सडक माथिबाट ठूलो चट्टान सहितको पहिरो खसेको हो । पहिरो खसेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरि निरिक्षक अनिल थापाको नेतृत्वमा सडक सुचारु गर्न आज बिहानैदेखि प्रहरी टोली घटना स्थलमा खटिरहेको छ ।



अबरुद्ध सडक सुचारु गर्नका लागि स्थानीय रुरुक्षेत्र गाउँपालिकाको पहलमा कालीगण्डककी करीडोर सडकमा काम गरिरहेको विडारी कन्ट्रक्सनद्वारा स्काभेटरको माध्यमवाट पहिरो पन्छाउने काम भैरहेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
रिडी‐रुद्रबेणी‐वामीटक्सार हुँदै बाग्लुङ्ग जिल्लाको बुर्तिवाङसम्म पुग्ने उक्त सडक जिल्लामा सबै भन्दा बढी सवारी साधनहरु सञ्चालन हुने सडक खण्ड अन्र्तगत पर्दछ । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रवाट पाल्पा, बुटवल जाने सयौं यात्रु र सवारी साधनहरु गएरातीदेखि अलपत्र परेका छन । अबरुद्ध सडक चाँडो भन्दा चाँडो सुचारु गर्नको लागि प्रशासनवाट थप पहल भईरहेको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताएका छन ।



