काठमाडौं । गृहमन्त्री सुधन गुरुङ पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायी दीपक भट्टसँग सम्बन्धित सेयर लगानीबारे सार्वजनिक रूपमा उठेका प्रश्न र आलोचनालाई ध्यानमा राख्दै उनले नैतिक जिम्मेवारी स्वीकार गर्दै पद त्याग गरेका हुन् ।
मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै आजकै मितिबाट लागू हुने गरी पदबाट अलग भएको जानकारी दिएका हुन । चैत १३ गतेदेखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको जीवन पारदर्शी, स्वच्छ र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।



उनले आफ्नो वक्तव्यमा पदभन्दा नैतिक मूल्य ठूलो हुने र शक्तिभन्दा जनताको विश्वास महत्वपूर्ण हुने उल्लेख गरेका छन् । देशमा सुशासन र जवाफदेहिताको माग गर्दै युवापुस्ताबाट उठिरहेका आवाजलाई संकेत गर्दै उनले यस्तो परिस्थितिमा नैतिक उदाहरण प्रस्तुत गर्नु आवश्यक रहेको बताएका छन् ।
गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन होस् भन्ने उद्देश्यले पनि पद त्याग गरेको स्पष्ट पारेका हुन् । पदमा रहँदा कुनै प्रकारको ‘स्वार्थको द्वन्द्व’ देखिन नदिनु आफ्नो प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ ।
राजीनामा घोषणा गर्ने क्रममा उनले सञ्चार क्षेत्रतर्फ पनि संकेत गर्दै केही सञ्चारकर्मीहरूको लगानी सम्बन्धी विषयहरू पनि क्रमशः सार्वजनिक हुन सक्ने बताएका छन् । सार्वजनिक जीवनमा पारदर्शिता चाहने सबैले त्याग, इमानदारी र नैतिक साहस देखाउनुपर्ने उनको धारणा छ ।



